१ पुष २०८२, मंगलवार
Follow Us

एमालेमा १७ नेता निर्विरोध निर्वाचित (सूचिसहित)

नेपालब्रिटेन संवाददाता
१ पुष २०८२, मंगलवार ०५:२७

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको उम्मेदवारी दर्ता प्रक्रियाबाटै १७ जना नेताहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ११ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ६ जना पदाधिकारीमा एकल उम्मेदवारी परेकोले उनीहरू मतदान प्रक्रियाविनै निर्वाचित भएका हुन् ।

निर्वाचन प्रक्रिया सुरु हुनासाथ विभिन्न क्लस्टर र भूगोलबाट ११ जना केन्द्रीय सदस्यले आफ्नो स्थान सुरक्षित गरेका छन् । जसमा लुम्बिनी प्रदेशको महिलातर्फ निर्धारित ३ सिटका लागि गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकालको मात्र उम्मेदवारी परेको थियो । आवश्यक संख्या बराबर मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन् ।

यसैगरी, मधेशी क्लस्टरको युवातर्फ २ जना निर्वाचित हुनुपर्नेमा एक जनाको मात्र उम्मेदवारी परेको छ । यसमा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

समावेशी तथा अन्य क्लस्टरतर्फ पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सीता लामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, पिछडिएको क्षेत्र (महिला) बाट वदमीक्वारी बुढा र प्रवास दक्षिण एसिया क्लस्टरबाट हरिप्रसाद घिमिरे सर्वसम्मत भएका छन् । ४० वर्षमुनिको खुला युवा केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले पुष्टि गरेको छ ।

केन्द्रीय सदस्यसँगै पार्टीका महत्त्वपूर्ण दुई आयोगका पदाधिकारीहरू पनि सर्वसम्मत चयन भएका छन् । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे चयन भएका छन् ।

यस्तै, केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेपछि आयोगका यी ६ जनै पदाधिकारीको पद मतदानअघि नै सुनिश्चित भएको हो ।

धेरै पढिएको