काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जानकारी दिएको हो ।
आयोगका अनुसार मतदान भोलि (पुस २) बिहान १ बजेसम्म सञ्चालन हुनेछ । यसअघि आज बिहान १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको भए पनि पछि निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।
संशोधित कार्यतालिकाअनुसार साँझ ७ बजेदेखि मतदान सम्पन्न गरी रातभरमै निर्वाचनका सम्पूर्ण कार्यक्रम सक्ने तयारी गरिएको छ ।
स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै स्थान भाडामा लिइएकाले पनि आजै मतदान सक्नेगरी तयारी गरिएको हो । उनले निर्धारित समयमै मतदान र अन्य निर्वाचन प्रक्रिया टुंग्याउने तयारी भइरहेको बताए ।
