काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी विवाद पुनः सर्वोच्च अदालतको इजलासमा पुगेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने भनी गरेको निर्णयलाई चुनौती दिँदै दायर गरिएको रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ । दुई वर्षअघि युवराज पौडेल ‘सफल’ले दायर गरेको उक्त रिट निवेदनलाई सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो ।
यसअघि प्रहरी अनुसन्धान र सरकारी वकिलको कार्यालयको सिफारिसमा महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । सोही निर्णय कानुनविपरीत रहेको र लामिछानेले राहदानी ऐनको स्पष्ट उल्लंघन गरेको दाबीसहित रिट दायर भएको थियो ।
रिट निवेदक पौडेलले अमेरिकी नागरिक कायम रहँदाकै अवस्थामा लामिछानेले आफू नेपाली नागरिक भएको स्वघोषणा गरी नेपाली राहदानी लिएको विषयलाई प्रमुख आधार बनाएका छन् । राहदानी ऐन, २०२४ को दफा ५ (ख) बमोजिम यो कार्य दण्डनीय कसुर हुँदाहुँदै पनि महान्यायाधिवक्ताले ‘आपराधिक मनसाय नदेखिएको’ भन्दै उन्मुक्ति दिनु क्षेत्राधिकार बाहिरको विषय भएको रिटमा उल्लेख छ ।
रिटमा लामिछानेले दोहोरो नागरिकताको प्रयोग गरी राहदानी दुरुपयोग गरेको समय र प्रयोजन खुल्ने गरी अध्यागमन विभागबाट विवरण झिकाउन माग गरिएको छ । साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई राजनीतिक अधिकार प्रयोगमा रोक लगाउन र विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्नसमेत माग गरिएको छ ।