जनकपुरमाथि विराटनगरको सनसनिपूर्ण जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुशलिङले ३० बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाए । जेम्स निसमले १५ बलमा ३ छक्काको मद्दतमा २७ रन जोडे ।
मोइन अलीले १४ बलमा १० र त्रितराज दासले ९ बलमा ६ रन बनाए । अभिषेक तिवारी ५ रनमा अविजित रहे । जनकपुरलाई लक्ष्यमा पुग्न नदिन विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए । उनले ४ ओभरमा ४५ रन खर्चिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । विराटनगरका लोकेश बमले ५०, इमरान शेखले ५६ र आन्द्रे रसेलले अविजित ५२ रन बनाएका थिए ।

