युक्रेनमा विद्यालयमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु
जापोरिजिया । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको विद्यालय भवनमा बम आक्रमण गर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार कोमिशुभाखा नगरस्थित विद्यालय भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए । भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिँदै आएको थियो ।
आक्रमणमा शक्तिशाली बम प्रयोग गरिएको र भवनको भूमिगत आश्रयस्थल भत्किएपछि आगलागी भएको स्थानीय प्रशासनले जनाएको छ । उद्धारका लागि पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीसहित थप मानिसहरू पनि दोस्रो आक्रमणमा मारिएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गरेको देखिने जनाएको छ ।
यसैबीच, रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीले बताएका छन् । आणविक विद्युत् केन्द्रसँग सम्बन्धित विद्युत् सबस्टेसनमा समेत आक्रमण भएपछि युक्रेनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई जानकारी गराएको छ ।
जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा प्रणाली मजबुत बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् ।

