२ पुष २०८२, बुधबार
Follow Us

सरकार र एनआरएनए मिलेर सर्वोच्चका मुद्दा फिर्ता लिने

नेपालब्रिटेन संवाददाता
२ पुष २०८२, बुधबार ०८:२५

काठमाडौँ । पछिल्ला केही वर्षमा विभाजित गैरआवासीय नेपालीका दुई संस्थाबीच सहमति भएसँगै सर्वोच्च अदालतमा लामो समयदेखि चल्दै आएको मुद्दाको शृङ्खला पनि अन्त्य हुनेतर्फ अघि बढेको छ।

मंसिर १४ गते महेशकुमार श्रेष्ठ र बद्री केसीबीच यसअघिका विवाद टुंग्याएर एक भएर जाने सहमति भएको थियो। उक्त सहमतिलाई आधार बनाउँदै सर्वोच्च अदालतमा विचाराधीन ६ थान मुद्दा फिर्ताको प्रक्रिया पनि एनआरएनएले सुरु गरेको छ। सहमतिपछिका अध्यक्ष भएका श्रेष्ठले सर्वोच्च अदालतका मुद्दा अब प्रक्रियागत रूपमा फिर्ताका लागि निवेदन दिने बताए। उनले परराष्ट्र मन्त्रालयले पनि विवादित पक्षबीच सहमति भएकाले मुद्दा खारेजको पत्र लेख्ने र मुद्दा दायर गर्नेहरूले पनि निवेदन दिने तयारी भइरहेको बताए।

उनका अनुसार एनआरएनएका तर्फबाट, सरकारका तर्फबाट र रिट निवेदकहरूका तर्फबाट केही दिनमा सर्वोच्चमा निवेदन दिने तयारी छ। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्चमा रहेको फाइल जलेकाले फाइल प्राप्तिको आदेश भएलगत्तै मुद्दाहरू फिर्ता हुने दाबी गरे।

पछिल्लो समय दुवै एनआरएनएका समूह शेष घले र अर्को पक्षका रूपमा विभाजित भएका थिए। घले पक्षले सर्वोच्चको फैसला कार्यान्वयन भन्दै काठमाडौंमा अलग्गै निर्वाचन गरेर श्रेष्ठलाई अध्यक्षका रूपमा निर्वाचित भएको घोषणा गरेपछि एनआरएनए विवाद झनै चुलिएको थियो। त्यसअघि नै आरके शर्माले हालेको रिट पनि विचाराधीन रहेको थियो भने बद्री केसीले निर्वाचन रोक्न माग गर्दै दायर गरेका रिटहरू पनि विचाराधीन थिए। एनआरएनए र सरकारका तर्फबाट मुद्दा फिर्ताको निवेदन दिएमा मुद्दा फिर्ता हुनेछ।

एनआरएनएले आगामी फेब्रुअरी २३, २४ र २५ मा १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचन गर्ने कार्यतालिका तय गरिसकेकाले यही साताभित्र मुद्दा फिर्ताको काम अघि बढ्ने पनि श्रेष्ठले बताए।

– इकान्तिपुर

धेरै पढिएको