काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको उदय गराउने लक्ष्यका साथ राजनीतिक सक्रियता तीव्र पारेका छन् । नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेका शाहले बुधबार ललितपुरमा विभिन्न क्षेत्रका ३० भन्दा बढी प्रभावशाली व्यक्तिहरूसँग सामूहिक तथा व्यक्तिगत छलफल गरेका हुन् ।
आफ्ना निकट सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा दिनभर चलेको उक्त ‘गोप्य’ परामर्शमा चिकित्सक, राजनीतिज्ञ, पूर्वप्रशासक, कलाकार र सञ्चार उद्यमीहरूको बाक्लो उपस्थिति थियो । छलफलमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका नेताहरू सहभागी थिए । यस्तै, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ताहरू सागर ढकाल, रक्षा बम र केपी खनालसँग पनि बालेनले बेग्लाबेग्लै संवाद गरेका छन् ।
महानगरका राजनीतिक सल्लाहकार सुनिल लम्सालको समेत उपस्थिति रहेको उक्त बैठकमा कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमला लगायतसँग बालेनले आगामी राजनीतिक बाटोबारे सुझाव मागेका थिए ।
बैठकमा सहभागीले बताएअनुसार बालेन आगामी निर्वाचनलाई लक्षित गरी नयाँ शक्ति निर्माणको तयारीमा जुटेका छन् । ‘भेटघाटको शैली हेर्दा उहाँहरू निर्वाचनमा जाने स्पष्ट संकेत देखिन्छ,’ स्रोतले भन्यो, ‘उहाँले सम्भावित टिम र सहयोगीहरूसँग राय लिनुभएको हो ।’
स्रोतका अनुसार बालेनले छलफलमा सहभागीहरूलाई एउटै प्रश्न सोधेका थिए- ‘मैले नयाँ पार्टी घोषणा गरेर अघि बढेँ भने तपाईंहरूको साथ र समर्थन रहन्छ कि रहँदैन ?’ जसमा अधिकांश सहभागीले सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ ।
‘लौरो’ चिह्न र ‘देश विकास पार्टी’
बालेनको सचिवालयले यसअघि नै ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा दर्ता गराइसकेको खुलेको छ । पहिले अनन्तराज घिमिरेको नाममा रहेको यो पार्टी अहिले बालेन निकटस्थहरूको व्यवस्थापनमा छ, जसको चुनाव चिह्न ‘लौरो’ रहेको छ । स्वतन्त्र रूपमा चुनाव जित्दा प्रयोग गरिएको लौरो चिह्नलाई नै अब पार्टीगत पहिचान दिने बालेनको तयारी छ ।
परामर्शका क्रममा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सोमबार भएको सात घण्टा लामो वार्ताबारे पनि ब्रिफिङ गरेका थिए । लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा चले पनि बालेनले भने उक्त भेटमा कुनै ‘ठोस’ सहमति नभएको बताएका छन् । ‘रविजीसँग सहकार्यको प्रस्ताव त आयो, तर ठोस खाका आएन,’ बालेनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘अहिलेको अवस्थामा रास्वपासँगै मिसिएर जान सक्ने आधार बलियो नदेखिएकाले आफ्नै ढङ्गले अघि बढ्ने मुडमा बालेन पुग्नुभएको छ ।’
यता रास्वपा सभापति लामिछानेले पनि बालेनसँगको संवाद प्रारम्भिक चरणमै रहेको र अन्य शक्तिहरूसँग पनि छलफल भइरहेको प्रतिक्रिया दिएका छन् । काठमाडौंको मेयरका रूपमा स्थापित भएका बालेनको यो पछिल्लो दौडधूपले नेपाली राजनीतिमा अर्को नयाँ समीकरण बन्ने सम्भावनालाई प्रवल बनाएको छ ।