११ पुष २०८२, शुक्रबार
Follow Us

रवि-बालेन सहकार्य निर्णायक चरणमा : ‘पावर सेयरिङ’को खाका हुँदै, कुलमानलाई पनि जोड्ने

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार ०६:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्यको प्रक्रिया सुरु भएको छ । राजनीतिमा नयाँ वैकल्पिक शक्तिको उदय गराउने उद्देश्यका साथ उनीहरुबीच ठोस निकटस्थहरु बताएका छन् ।

पछिल्लो केही दिनदेखि जारी सघन संवादलाई पूर्णता दिन दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय भएसँगै शुक्रबार रातिसम्म एउटा ठोस सहमति निस्कने उनीहरूको ठम्याइ छ । पार्टी एकता वा वृहत् राजनीतिक सहकार्यका लागि मध्यस्थकर्ताको भूमिकामा रहेका असीम शाह, आसिफ शाह र कुमार बेनले सहमतिको विस्तृत खाका तयार पारिरहेका छन् । स्रोतका अनुसार, एकता प्रक्रियालाई औपचारिकता दिन अहिले दुवै पक्षका सरोकारवालाहरू गृहकार्यमा जुटेका छन् ।

प्रस्तावित सहमतिको मस्यौदामा शक्ति बाँडफाँटको विषयलाई मुख्य प्राथमिकता दिइएको छ । जसअनुसार एकीकृत पार्टीमा बालेन शाहको बरियता सभापति रवि लामिछानेको ठिक मुनि रहने गरी सहमति खोजिएको छ । आगामी निर्वाचनपछि पहिलो चरणमै बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रास्वपा सभापति लामिछानेको पुरानो प्रतिबद्धतामा पुन: सहमति जुटेको बुझिएको छ ।

यसअघि ७ पुसमा कमलपोखरीमा भएको छलफलमा कुरा नमिलेपछि बालेन केही चिढिएका थिए । उनले आफ्नै नेतृत्वमा ‘देश विकास पार्टी’ दर्ता गरेर अघि बढ्ने तयारी गरेपछि रास्वपा पंक्तिमा तरङ्ग पैदा भएको थियो । तर, वैकल्पिक शक्तिहरू विभाजित हुँदा पुराना शक्तिहरूलाई नै फाइदा पुग्ने निष्कर्ष निकाल्दै मध्यस्थकर्ताहरूले दुवै नेतालाई पुन: संवादको टेबुलमा ल्याएका हुन् ।

बिहीबार अपराह्नसम्म चलेको वार्तामा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको भागबन्डाबारे विस्तृत छलफल भएको थियो । सभापति लामिछानेले ७०-३० को अनुपातमा समानुपातिक उम्मेदवारको सूची तयार पार्नुपर्ने प्रस्ताव अघि सारेका छन् । यद्यपि, बालेनले भने संख्यात्मक विवरणभन्दा पनि सक्षम व्यक्तिको छनोट र कार्यगत एकतामा बढी जोड दिएको स्रोतको दाबी छ ।

चुनाव चिह्नका हकमा रास्वपाको ‘घण्टी’ आम जनतामा स्थापित भइसकेकाले सोही चिह्नलाई निरन्तरता दिने विषयमा बालेन सकारात्मक देखिएका छन् । बिहीबार सञ्चारकर्मीले सोधेको ‘लौरी कि घण्टी ?’ भन्ने प्रश्नमा लामिछानेले ‘समयले बताउने’ भन्दै कूटनीतिक जवाफ दिएका थिए ।

एकता प्रयास रवि र बालेनमा मात्र सीमित छैन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका प्रभावशाली व्यक्तित्वहरूलाई पनि एउटै मोर्चामा ल्याउने जिम्मेवारी बालेन शाहले लिएका छन् । बालेन र कुलमानबीचको पछिल्लो भेटलाई पनि यसै कडीको रूपमा हेरिएको छ ।

धेरै पढिएको