काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तत्कालीन उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार बिहान उनी औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशका लागि डा. परियार हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास पुगेका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले उनलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । प्रचण्डनिकट स्रोतका अनुसार, डा. परियारलाई तत्काल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने तयारी गरिएको छ । अन्य थप जिम्मेवारीबारे भने पार्टीमा छलफल गरेर निर्णय लिइने बताइएको छ ।
गत मंसिर ५ गते बुटवलमा आयोजित एक सभामा डा. परियारले दिएको अभिव्यक्ति विवादित बनेको थियो । पार्टीको आचारसंहिता विपरीत अमर्यादित शैलीमा भाषण गरेको भन्दै अध्यक्ष हर्क साम्पाङले उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरेका थिए । सोही घटनापछि असन्तुष्ट रहेका परियारले अन्ततः आफ्नो राजनीतिक यात्रा नेकपातिर मोडेका हुन् ।