९ माघ २०८२, शुक्रबार
Follow Us

टेरामक्स मुद्दामा विशेष अदालतद्वारा सर्वोच्चको आदेश माग

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८२, आईतवार १३:३३

काठमाडौँ । टेरामक्स प्रणाली खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतबाट यसअघि जारी भएको आदेश पेस गर्न निर्देशन दिएको छ। उक्त मुद्दामा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसमेत जोडिएका छन्।

आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले खरिद प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटसम्बन्धी आदेश झिकाउन अभियोजन पक्षलाई निर्देशन दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत सञ्चार मन्त्री रहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा करिब ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ बराबरको अनियमितता भएको आरोपसहित २०८१ जेठ १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यस प्रकरणमा दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध आपूर्तिकर्ता कम्पनी भानराइज सोलुसनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो, जसमा सर्वोच्चले २०७८ वैशाख १४ गते आदेश जारी गरेको थियो।

विशेष अदालतले सोही आदेश र त्यससँग सम्बन्धित कागजात मुद्दाको सुनुवाइका क्रममा अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको जनाएको छ।

धेरै पढिएको