१४ माघ २०८२, बुधबार
Follow Us

झापा-५ मा ओली कि बालेन ?

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८२, बुधबार ०५:५६

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो । दुवै जनालाई आआफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो । चुनावी रौनक पनि थपिँदै छ ।

राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा–५ कै चर्चा छ । “ओली कि बालेन ?” भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन, उत्साहितसमेत बनाएको छ तर यो क्षेत्रमा अरू प्रतिस्पर्धी पनि गम्भीर ढङ्गले जनमत आफूतिर पार्न उत्रनुभएको छ । यस्तै कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक धार तय गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

एकातर्फ लामो राजनीतिक अनुभव र सङ्गठनात्मक शक्तिमा रहनुभएका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र सहरी लोकप्रियताको प्रतीक बनेका बालेनबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । ओलीले उम्मेदवारी दर्तापछि चार दिन झापा बसेर पार्टी सङ्गठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रममार्फत जनतामाझ आफ्नो सन्देश पु-याउनुभएको छ । अर्का प्रतिस्पर्धी शाह पनि उम्मेदवारी दर्तापछि अन्य निर्वाचन क्षेत्रततर्फ लाग्नुभएको छ । अरू धेरै उम्मेदवार भने जनतामाझ पुग्न थालिसक्नुभएको छ ।

एमालेले घरदैलो कार्यक्रम र आवश्यक प्रचारप्रसारको काम तीव्र रूपमा अघि बढाइएको पूर्वमन्त्री देवेन्द्र दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार मतदातालाई स्थानीय प्रतिबद्धताबारे जानकारी गराउने, पार्टीका विगतका उपलब्धि र भावी योजना प्रस्तुत गर्ने रणनीति अपनाइएको छ । एमालेले झापा–५ मा आफ्नो परम्परागत मताधार सुरक्षित राख्दै नयाँ मतदाता आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

रास्वपाका वरिष्ठ नेता रहनुभएका उम्मेदवार बालेन भने दमक–५ मा बनाइएको सम्पर्क कार्यालयमा दुई दिन भेटघाट गरेर फर्कनुभएको रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले बताउनुभयो । अहिले घरदैलो कार्यक्रमलाई रास्वपाले तीव्र बनाएको उहाँले जानकारी दिनुभयो ।

बालेनले अहिलेसम्म ठुला सार्वजनिक सभा, भाषण वा औपचारिक घोषणापत्र सार्वजनिक गर्नुभएको छैन । भेट्न आएकाहरूसँग छोटो संवाद, सुझाव सङ्कलन र फोटो खिच्ने शैलीले उहाँले ध्यान खिच्नुभएको छ । अब कार्यक्रम तय गरेर आएपछि उहाँले बोल्ने पनि स्थानीय पार्टी नेतृत्वले जानकारी गराएको छ । सामाजिक सञ्जाल, युवामाझ प्रत्यक्ष संवाद र परिवर्तनको नारालाई मुख्य हतियार बनाउने बालेन पक्षको रणनीति देखिन्छ । “जनताले परिवर्तन चाहेका छन् र त्यो परिवर्तन बालेनलाई देखेका छन्,” भट्टराईले भन्नुभयो ।

ओली र बालेनको उम्मेदवारीले चर्चा पाए पनि झापा–५ मा अन्य २२ जना उम्मेदवार पनि चुनावी अभियानमा सक्रिय रहनुभएको छ । उहाँहरू आआफ्ना एजेन्डा, विचार र प्रतिबद्धतासहित मतदातामाझ पुग्न थाल्नुभएको छ ।

कांग्रेसबाट पौड्याल : नेपाली कांग्रेसबाट मन्धरा पौड्याल उम्मेदवार रहनुभएको छ । क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार कांग्रेस अहिले रूपान्तरण भएकाले चुनावी माहोल सकारात्मक छ । भण्डारीले युवा नेता गगन थापा पार्टी सभापति भएपछि सङ्गठन थप सव्रिmय भएको दाबी गर्नुभयो । “प्रमुख दलमध्ये यहाँ महिला उम्मेदवारी दिने एक मात्र पार्टी नेपाली कांग्रेस हो,” उहाँले भन्नुभयो ।

कांग्रेसले महिला नेतृत्व, सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको छ ।

युवा नेता तामाङ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उक्त पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आएका तामाङले युवा आकाङ्क्षा, विचार र वैकल्पिक अर्थनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले लगातार तीन पटक यो क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवारी नदिएको र यस पटक उम्मेदवार बनेकाले कार्यकर्ता निकै उत्साहित रहेको उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौलाले बताउनुभयो ।

श्रम संस्कृति र स्वतन्त्र पनि : श्रम संस्कृति पार्टीबाट समीर तामाङलगायत झापा क्षेत्र नं. ५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । सबै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहनुभएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् । तीमध्ये करिब १० हजार मतदाता नयाँ थपिएका छन् ।

धेरै पढिएको