लन्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेले गत शनिबार ‘वित्तीय व्यवस्थापन तथा युकेको कर प्रणाली’ विषयमा एक अन्तरकृया आयोजना गर्यो। साउथ लण्डन एकेडेमी कलेज उलवीचमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष दिप गिरिले हाल युकेमा बसोबास गरिरहेका प्रवासी नेपालीहरुले कमाएको पैसा नेपाल तथा बेलायतमै कसरी लगानी गर्ने, जोखिमहरु र युकेको कर प्रणाली लगायतका विषयमा जानकारी दिन सो अन्तरकृया आयोजना गरिएको बताए।
कार्यक्रममा भट्टराई एण्ड कम्पनी इमिग्रेसन प्राक्टीसका प्रिन्सिपल तथा जेम्स सोलिसिटर्सका कन्सल्टेन्ट दिपक भट्टराईले रियल स्टेट व्यवसायका बारेमा, रोजमाउन्ट फाइनान्सियल सलुसन्सका मोर्टगेज एण्ड प्रोटेक्सन एडभाइजर ऋषि खनालले मोर्टगेजसंबन्धी नियमहरुका बारेमा र नोमुरा एसेट म्यानेजमेन्ट लण्डनका इक्वीटी रिसर्च एनलिस्ट सशाङ्क प्रधानले स्टक मार्केटका विषयमा जानकारी दिएका थिए। त्यस्तै ब्रिटेननेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन कँडेलले नेपालमा लगानीका अवसर तथा चुनौतीका संबन्धमा अनि जीएनएस लिमिटेडका चार्टर्ड एकाउन्टेन्ट लेखनाथ घिमिरेले युकेको कर प्रणालीको विषयमा प्रस्तुति दिएका थिए।
सो कार्यक्रमको प्रायोजक सामाजिक व्यवसाय गर्ने कम्पनी सगुन लिमिटेडका प्रतिनिधि सन्तोष घिमिरेले आफ्नो कम्पनीका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा सहभागीहरुको प्रश्नको संबन्धित विज्ञहरुले जवाफ दिएका थिए।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले संस्थाको उद्देश्य अनुसार सदस्य साथीहरु तथा स्थानीय नेपाली समुदायको आर्थिक वृत्तिविकासकालागि आयोजना गरिएको अन्तरकृया उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे। त्यसैगरी आगामी दिनमा शिक्षा क्षेत्रलाई केन्द्रित गरेर विश्वविद्यालय जाने उमेरका भाइबहिनीहरुलाई समेटेर कार्यक्रम गरिने जानकारी पनि फेरालीले दिए।