फोटो – शिव भण्डारी
लन्डन । बेलायतको डार्टफोर्डस्थित सेन्ट्रल पार्क (ओपन एयर थिएटर) मा १९ अप्रिलका दिन आयोजित ‘लन्डन बिस्का जात्रा’मा करिब ३ हजार नेपाली समुदाय उत्साहपूर्वक सहभागी भएका छन्। पासा पुचः गुथी यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरेको उक्त जात्रामा करिब २८ सयभन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ।
प्रायः बेलायतीहरू मात्रै देखिने उक्त मनोरम पार्क आइतबार भने नेपालीमय बनेको थियो। नेवार समुदायको समृद्ध कला, संस्कृति र परम्पराले पार्क झकिझकाउ बनेको देखिन्थ्यो।

हाकुपटासी, न्यापुसिखस्, तायो, पछ्यौरा, चाँदीका सिक्री, झुम्का, कल्ली र मखमली जुत्तामा सजिएका महिलाहरूले विशेष आकर्षण थपेका थिए भने दौरा–सुरुवाल, स्टकोट र कालो टोपीमा सजिएका पुरुषहरूको उपस्थितिले वातावरण झनै सांस्कृतिक बनेको थियो।
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लिच्छविकालीन बिस्काः जात्राको झल्को दिने गरी आयोजना गरिएको यो कार्यक्रम बेलायतमा तेस्रो संस्करण हो। यसअघि सन् २०२२ मा पहिलोपटक र २०२४ मा दोस्रोपटक आयोजना गरिएको थियो।
जात्रामा बेलायतमै निर्माण गरिएका भैरव र भद्रकालीका रथहरूको भव्य यात्रा निकालिएको थियो। अन्त्यमा परम्पराअनुसार दुवै रथ जुधाएर जात्रा समापन गरिएको थियो। साथै, योसिं (लिंगो) उभारिएको थियो। गणेश पूजा पश्चात् बालकुमारी खः, सिद्धिकाली खः, विष्णुवीर खः र दक्षिण बाराही खः बोकेर परिक्रमा गरिएको थियो।
जात्राको अर्को मुख्य आकर्षण सिन्दूर जात्रा रहेको थियो। भैरव गण नाच, गोर्खाली टाकटुके नाच, धिमे नाच लगायत सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई आकर्षित गरेका थिए। साथै, नायः खिं, खिं, पोंगा, मृदंग लगायत परम्परागत बाजाहरू पनि प्रस्तुत गरिएका थिए।
जात्रामा सहभागी ‘मिसेस नेपाल यूके २०१७’ आस्था जोशी बाटाजुले नेपालमा रहँदा प्रत्यक्ष अवलोकन गर्न नपाएको जात्रा बेलायतमा अनुभव गर्न पाएको बताइन्। उनले विशेषगरी विभिन्न जातजातिका—राई, लिम्बु, गुरुङ, क्षेत्री र बाहुन समुदायका सहभागीहरूको उत्साहले आफू प्रभावित भएको उल्लेख गरिन्।
कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडीले पासा पुचः गुथी यूकेले बेलायतमा नेवार कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए। यस्ता कार्यक्रमले दोस्रो पुस्तामा मौलिक संस्कृति हस्तान्तरण गर्न सहयोग पुग्ने उनको विश्वास थियो।

जात्रामा नेपालबाट मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठ, हिटी संरक्षण अभियन्ता यादवलाल कायस्थ, सम्पदा अभियन्ता रवि शाक्य तथा आर्किटेक्ट सुनिस कुमार लाखे पनि सहभागी भएका थिए।
मेयर श्रेष्ठले सात समुद्रपार बसोबास गरे पनि बेलायतका नेवार समुदायले आफ्नो कला, संस्कृति, भेषभूषा र परम्परा जीवन्त राख्नु अत्यन्त सराहनीय रहेको बताए।

आयोजक पासा पुचः गुथी यूकेका बीओटी अध्यक्ष सुशील प्रजापतिले करिब ६ महिनाको तयारीपछि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै सबै सहयोगीप्रति आभार व्यक्त गरे। नेवार कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको उनले बताए।
कार्यक्रम संयोजक तथा पासा पुचः गुथी यूके साउथ–इष्ट लन्डनका अध्यक्ष सुरोज मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए। जात्राका सहभागीहरू दिनभर नेवारी परिकार तथा विभिन्न व्यापारिक स्टलहरूमा रमाइरहेका देखिन्थे।






