५ जेष्ठ २०८३, मंगलवार
Follow Us

उपचाररत महिलाको मृत्यु भएपछि कानको मुन्द्रा गायब

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ०५:१७

विराटनगर । विराटनगर स्थित ग्रिनक्रस हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएपछि उनको कानमा रहेको सुनको मुन्द्रा गायब भएको छ । मुन्द्रा गायब भएसँगै परिवारले अस्पताल प्रशासनमाथि प्रश्न उठाएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सविना दनुवार उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । आइतबार बिहान चिकित्सकले मृत घोषणा गर्नुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाइएको थियो । परिवारका अनुसार सोही समयमा उनको कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा हराएको हो ।

आफन्तले सुन गायब भएको विषय उठाएपछि अस्पताल प्रशासनले सुरुमा घटना अस्वीकार गरेको बताइएको छ । तर उपचारकै क्रममा खिचिएको भिडियोमा मृतकको कानमा सुन देखिएको तथा सीसी क्यामेरा फुटेजमा शंकास्पद गतिविधि भेटिएपछि अस्पताल प्रशासन दबाबमा परेको स्रोतको दाबी छ ।

घटनापछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो । प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारलाई एक तोला सुन बराबरको रकमको चेक दिएको जनाइएको छ ।

अस्पतालका सञ्चालक कृष्ण खवास ले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । यता मोरङ प्रहरी प्रमुख कवित कटवालले घटनामाथि गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

जीवन बचाउने थलो मानिने अस्पतालमै मृतकको शरीरबाट गहना हराएको घटनाले सर्वसाधारणमा आक्रोश र त्रास फैलिएको छ ।

धेरै पढिएको