काठमाडौँ । अभिनेता नजिर हुसेनले आफ्नो नामका कारण दिल्ली विमानस्थलमा सुरक्षा जाँचका क्रममा पटक–पटक अतिरिक्त सोधपुछमा पर्नुपरेको बताएका छन्।
अभिनेता हुसेनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फिल्म ‘गुन्यु चोलो’को प्रदर्शनका क्रममा भारत पुगेपछि नेपाल फर्किने क्रममा नयाँ दिल्लीस्थित विमानस्थलमा उनलाई सुरक्षाकर्मीले विशेष कक्षमा लगेर केरकार गरेका थिए।
निर्देशक समुद्र भट्टसँगै नेपाली दूतावास, नयाँ दिल्लीमा फिल्म प्रदर्शनका लागि पुगेका हुसेनका अनुसार विमानस्थलमा आफूलाई मात्र थप सोधपुछ गरिएको थियो। निर्देशक भट्टसँग भने सुरक्षाकर्मीले कुनै प्रश्न नगरेको उनले उल्लेख गरेका छन्।
हुसेनले सुरक्षाकर्मीले आफू नेपाल फर्किनुको कारण, दिल्ली आउनुको उद्देश्य तथा आफूसँग भारतीय मुद्रा भए-नभएको लगायतका विषयमा प्रश्न गरेको बताएका छन्।
नेपाल फर्कने क्रममा नेपाल एयरलाइन्सको जहाजभित्रको स्क्रिनमा गुगल म्यापमार्फत लुम्बिनी देखेपछि आफूलाई केही राहत महसुस भएको अनुभव पनि उनले सार्वजनिक गरेका छन्।
उनले आफ्नो नामकै कारण हरेक पटक रोक्ने र विशेष कक्षमा लगेर सोधपुछ गर्ने अवस्था भए त्यसको स्पष्ट कारण जानकारी पाउनुपर्ने बताएका छन्। पहिलो पटक यस्तो अनुभव हुँदा सामान्य प्रक्रिया ठाने पनि दोस्रो पटक दोहोरिएपछि असहज महसुस भएको उनको भनाइ छ।
हुसेनले यस विषयलाई गलत बुझाइका कारण भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने स्पष्ट हुनुपर्ने धारणा राखेका छन्।