बाढीपीडितको सम्झनामा बर्मिङहममा दीप प्रज्वलन
बर्मिङहम । नेपालमा हालै आएको विनाशकारी बाढी तथा त्यसबाट ज्यान गुमाउने र प्रभावित भएकाहरूको सम्झनामा बेलायतको बर्मिङहममा ५५५ दीप प्रज्वलन गरिएको छ।
शान्ति नेपाली समाज बेलायतको आयोजनामा बिहीबार साँझ बर्मिङहम सिटी सेन्टरस्थित भिक्टोरिया स्क्वायरमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो। कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी भर्चुअल रूपमा सहभागी भएका थिए भने एनआरएनए आइसीसीका प्रवक्ता सोम सापकोटासहित करिब दुई सय जनाको उपस्थिति थियो।
बाढी तथा विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। कार्यक्रममा बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले विपत्तिका बेला शान्ति नेपाली समाजसहित बेलायतस्थित नेपाली समुदायले देखाएको सहयोग र ऐक्यबद्धताको प्रशंसा गरे। उनले राहत तथा सहयोग रकम संकलन र हस्तान्तरण गर्दा पारदर्शिता, सुरक्षा र जिम्मेवारीमा विशेष ध्यान दिनुपर्ने बताए।
राहत रकम सुरक्षित र व्यवस्थित रूपमा प्रधानमन्त्री राहत कोषसम्म पुर्याउन बेलायतस्थित नेपाली संघसंस्था सचेत र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।
एनआरएनए आइसीसीका प्रवक्ता सोम सापकोटाले बेलायतमा रहेका नेपाली समुदाय र सामाजिक संस्थाहरूले नेपाल–बेलायत सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले बाढीपीडितका लागि बेलायत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपत्तिको समयमा मानवीय सहयोग र एकताले ठूलो अर्थ राख्ने बताए।
समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपाली समाजको विशेषता ‘अनेकतामा एकता र एकतामा विविधता’ भएको उल्लेख गर्दै विपत्तिका बेला समुदाय एकजुट भएर सहयोगमा जुट्नुपर्ने बताए। उनले आवश्यक पर्दा राहत रकम मात्र नभई रगत दिनसमेत नेपाली समुदाय तयार रहेको बताए।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष कोशलेश्वर ढकालले बाढीपीडितका लागि संस्थाले अघि सारेका राहत तथा सहयोगका प्रयासबारे जानकारी दिए। उनका अनुसार टेक गुरुङ परिवारलाई तत्काल राहतस्वरूप ५५५ पाउन्ड तथा सदस्यहरूको राहत र खोजी कार्यका लागि थप एक हजार पाउन्ड उपलब्ध गराइएको छ।
उनले विपत्तिको घटनापछि १२ घण्टाभित्रै प्रधानमन्त्री राहत कोषमा दुई लाख ५० हजार रुपैयाँ पठाइएको जानकारी दिँदै आगामी साता थप १२ देखि १५ लाख रुपैयाँ नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गरिने बताए।
समाजका उपाध्यक्ष निशान्तमान बज्राचार्यले विपत्तिपछि तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा पुनर्स्थापना र पुनर्निर्माणमा समेत ध्यान दिनुपर्ने बताए। उनका अनुसार संस्थाले आगामी दुई सातासम्म बाढीपीडितको राहत, खोजी, पुनर्स्थापना र पुनर्निर्माणसँग सम्बन्धित कामबाहेक अन्य कार्यक्रम नगर्ने निर्णय गरेको छ।
समाजका महासचिव राजेशमणि लामिछानेले बाढीका कारण ठूलो मानवीय क्षतिसँगै घर, धनसम्पत्ति, खेतबारी तथा भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको बताए। उनले बेलायतस्थित नेपाली समुदायलाई उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि एकजुट भएर सहयोग गर्न आग्रह गरे।
दीप प्रज्वलनका क्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए। भौगोलिक दूरीका बाबजुद नेपालमा परेको विपत्तिप्रति बेलायतस्थित नेपाली समुदाय संवेदनशील र सहयोगी रहेको सन्देश कार्यक्रमले दिएको आयोजकहरूको भनाइ थियो।
कार्यक्रममा एनआरएनए यूकेका सचिव डिएन खराल, समाजका कोषाध्यक्ष काशी बन, प्रवक्ता डिआर पराजुली, पूर्वअध्यक्ष प्रविन खराल, सल्लाहकारहरू ठाकुर ज्ञवाली, शंकर भण्डारी, चन्द्र सहानी, बाबुराम सापकोटा र जयन्ती थापा, प्रमुख सांस्कृतिक संयोजक सीता पौडेल, सांस्कृतिक संयोजक पार्वती भण्डारी तथा काभ्रे समाज यूकेका अध्यक्ष रामचन्द्र अधिकारीलगायत सहभागी थिए।
कार्यक्रमको सञ्चालन समाजका महासचिव राजेशमणि लामिछानेले गरेका थिए।
बर्मिङहमको व्यस्त सिटी सेन्टरमा गरिएको ५५५ दीप प्रज्वलनले नेपालमा विपत्तिमा परेका परिवारप्रति बेलायतस्थित नेपाली समुदायको भावनात्मक सम्बन्ध, सहानुभूति र सहयोगको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको थियो।







