२८ आश्विन २०८३, बुधबार
Follow Us

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०८३, बुधबार १५:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै सार्वजनिक भएको एक अडियो प्रकरणलाई लिएर पुनः कडा रूपमा आफ्नो प्रस्टीकरण दिएका छन्।

आफूमाथि उठेका प्रश्नहरूको सामना गर्न र निष्पक्ष छानबिनका लागि तयार रहेको बताउँदै उनले यस विषयमा पार्टी, शुभचिन्तक वा मतदाताहरूले शिर झुकाउनु नपर्ने बताएका छन्।

सांसद सुनारले आफूमाथि उठेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन गर्न राज्यका सबै निकायलाई आग्रह गरेका छन्। उनले स्पष्ट पार्दै भनेका छन्, “ममाथि उठेको प्रश्न हो, यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन। ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधि सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्। म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी र सरकार सती जान पर्दैन।”

छानबिन र सत्यतथ्यको माग
आफू राज्यका सबै निकायले गर्ने छानबिनमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले बताएका छन्। आफूमाथि लगाइएका आरोपहरू प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

महिलामाथिको दुर्व्यवहारप्रति आपत्ति
अडियो प्रकरणका सन्दर्भमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलालाई अनावश्यक रूपमा मिडिया ट्रायल गरिएको, अतिरञ्जित प्रचार गरिएको र तस्बिर तथा अडियो जोडेर गरिएको टिप्पणीप्रति उनले कडा आपत्ति जनाएका छन्। काल्पनिक कुराको आधारमा एक महिलालाई यसरी लखेट्नु र राज्यका जिम्मेवार निकायबाट दबाब तथा धम्कीपूर्ण वातावरण सिर्जना गरिनु आपत्तिजनक भएको उनको भनाइ छ।

आफूले कुनै गल्ती गरेको भए कानुन बमोजिम अनुसन्धान गरी सजाय भोग्न तयार रहेको दोहोर्‍याउँदै उनले निष्कर्षमा भनेका छन्, “जे कारबाही हो ममाथि होस्, मलाई स्वीकार छ। तर, ती महिलामाथि प्रहरी, राज्य, समाज र मिडियाले गरिएको दुर्व्यवहार मान्य छैन, त्यो गलत छ।”

धेरै पढिएको