डायस्पोरा

बेलायतको सबैभन्दा पुरानो भारतीय रेस्टुरेन्ट बचाउन अभियान, राजा चार्ल्सलाई हस्तक्षेप गर्न कर्मचारीको आग्रह

लन्डन बेलायतकै सबैभन्दा पुरानो भारतीय रेस्टुरेन्ट ‘वीरास्वामी’ (Veeraswamy) बन्द हुने जोखिममा परेपछि त्यसलाई जोगाउन कर्मचारी, ग्राहक तथा चर्चित सेफहरूले अभियान सुरु गरेका छन्। रेस्टुरेन्टका कर्मचारीहरूले बेलायती राजा चार्ल्स तृतीयलाई हस्तक्षेप गरी ऐतिहासिक सम्पदा जोगाउन आग्रह गरेका छन्।

लन्डनको रेजेन्ट स्ट्रिटस्थित स्वालो स्ट्रिटमा रहेको वीरास्वामी सन् १९२६ मा स्थापना भएको हो। करिब एक शताब्दी लामो इतिहास बोकेको यस रेस्टुरेन्टले विन्स्टन चर्चिल, चार्ली च्याप्लिन र मार्लन ब्रान्डोजस्ता चर्चित व्यक्तित्वलाई समेत सेवा प्रदान गरिसकेको छ। यसले बकिङ्घम प्यालेसका विभिन्न कार्यक्रममा पनि खानाको व्यवस्था गरेको थियो।

तर रेस्टुरेन्ट रहेको भिक्ट्री हाउस भवनको पुनर्निर्माण गर्ने योजनासँगै घरधनी क्राउन इस्टेटले यसको भाडा सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयन भए वीरास्वामीले हाल सञ्चालन भइरहेको स्थान छाड्नुपर्नेछ।

रेस्टुरेन्टका सञ्चालक रञ्जित माथरानीले आफूहरूको व्यवसायमाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाउँदै ऐतिहासिक रेस्टुरेन्टलाई इतिहासबाटै मेटाउने प्रयास भइरहेको बताएका छन्। यस विषयमा अदालतमा कानुनी विवादसमेत सुरु भएको छ।

रेस्टुरेन्ट बचाउन सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हालसम्म २० हजारभन्दा बढी व्यक्तिले समर्थन जनाएका छन्। चर्चित सेफ रेमन्ड ब्लाङ्क र मिसेल रुजलगायतले पनि अभियानलाई समर्थन गरेका छन्।

रेस्टुरेन्टमा नौ वर्षदेखि ग्राहकको स्वागत गर्दै आएका ७३ वर्षीय कर्मचारी मार्टिनले यो स्थान आफ्नो लागि केवल कार्यस्थल नभई गर्वको विषय भएको बताए।

उनले भने, ‘यो काम गर्ने अद्भुत ठाउँ हो। यस्तो ऐतिहासिक स्थान बन्द भएको देख्नु अत्यन्त दुःखद हुनेछ। इतिहासको मूल्यमा लोभले जित्नु हुँदैन।’

उनका अनुसार वीरास्वामी लन्डनको पहिचान र सांस्कृतिक इतिहासको महत्त्वपूर्ण हिस्सा हो। अर्को स्थानमा रेस्टुरेन्ट सारिए पनि हालको भवनसँग जोडिएको इतिहास पुनः निर्माण गर्न नसकिने उनको भनाइ छ।

अर्का कर्मचारीले पनि रेस्टुरेन्टलाई परिवारजस्तै रहेको बताउँदै पुस्तौँदेखि मानिसहरू यहाँ खाना खान आउने गरेको उल्लेख गरे। वीरास्वामी बन्द भए रेजेन्ट स्ट्रिटको पहिचान नै अपूरो हुने उनीहरूको भनाइ छ।

रेस्टुरेन्टका नियमित ग्राहक विजय (२९) ले पनि वीरास्वामीको खानाको गुणस्तर र सेवाको प्रशंसा गर्दै बन्द भए आफूलाई दुःख लाग्ने बताए। उनका अनुसार बेलायतमा व्यावसायिक भ्रमणका लागि आउँदा उनी यहाँ खाना खान छुटाउँदैनन्।

यसैबीच, सञ्चालक माथरानीले राजा चार्ल्सलाई पत्र लेख्दै हस्तक्षेपका लागि अनुरोध गरेका थिए। तर बकिङ्घम प्यालेसले यो विषय क्राउन इस्टेटका अधिकारीहरूको जिम्मेवारीभित्र पर्ने जवाफ दिएको छ।

अदालतमा सुरु भएको सुनुवाइका क्रममा वीरास्वामीको मातृ कम्पनी एमडब्ल्यू ईटका तर्फबाट वकिल गाइ फेदरस्टोनहले रेस्टुरेन्टलाई अन्य व्यवसायभन्दा फरक व्यवहार गरिएको दाबी गरेका छन्। उनले भवनमा नयाँ र आधुनिक कार्यालय बनाउने योजनाका कारण प्रतिष्ठित भारतीय रेस्टुरेन्टलाई हटाउन खोजिएको हुन सक्ने तर्क गरेका छन्।

तर क्राउन इस्टेटले भने रेस्टुरेन्टमा पाइने खानाको प्रकारका कारण यस्तो निर्णय नगरिएको स्पष्ट पारेको छ।

क्राउन इस्टेटका प्रवक्ताले लन्डनको वेस्ट इन्ड क्षेत्रमा विभिन्न प्रकारका खानाका परिकार उपलब्ध गराउने व्यवसायलाई आफूहरूले सम्मान गर्ने बताएका छन्। भवनको आवश्यक पुनर्निर्माण र ऐतिहासिक क्षेत्रको व्यवस्थापनसम्बन्धी जिम्मेवारीका कारण कठिन निर्णय लिनुपरेको उनको भनाइ छ।

क्राउन इस्टेटले रेस्टुरेन्टलाई आफ्नो स्वामित्वमा रहेका अन्य स्थानमा नयाँ परिसर खोज्न सहयोग गर्ने तथा आर्थिक क्षतिपूर्ति उपलब्ध गराउने प्रस्तावसमेत गरेको जनाएको छ।

आफूले गर्ने आम्दानी बेलायतको सरकारी कोषमा जाने भएकाले करदाताको रकम जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने दायित्व रहेको पनि क्राउन इस्टेटले उल्लेख गरेको छ।

करिब १०० वर्षदेखि बेलायतमा भारतीय खानाको पहिचान स्थापित गर्दै आएको वीरास्वामीको भविष्य अब अदालतको निर्णय र जारी अभियानको परिणाममा निर्भर रहने देखिएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम