रास्वपा नेता मनिष झा साताव्यापी बेलायत भ्रमणमा आउँदै
लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा विदेश विभाग प्रमुख मनिष झा बेलायत भ्रमणमा आउने भएका छन्। रास्वपा प्रवास सम्पर्क विभाग बेलायतका सभापति पवन शर्माका अनुसार सांसद झा अक्टोबर ३० तारिखदेखि बेलायत भ्रमणमा आउन लागेका हुन्। सांसद झाले आगामी सातादेखि बेलायत भ्रमण गर्न लागेको पुष्टि गरेका छन्।
रास्वपाका प्रभावशाली नेताका रूपमा परिचित झाको सम्मानमा रास्वपा बेलायत शाखाले नोभेम्बर १ तारिख आइतबार पूर्वी लण्डनमा भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। शाखाका महासचिव कृष्ण लुइँटेलले उक्त कार्यक्रमबारे जानकारी दिएका हुन्।
भ्रमणका क्रममा झा बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै लण्डनमा रहेका नेपाली व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, उनले बेलायती संसद्को अवलोकन गर्ने तथा लण्डनस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।
झा नोभेम्बर ६ तारिख नेपाल फर्किने कार्यक्रम रहेको छ।


