डायस्पोरा

नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन् : परराष्ट्र मन्त्री खनाल

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्र मन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्र मन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र ग्रहण गर्दै परराष्ट्रमन्त्रीले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसिसी तुर्किएको टोलीलाई परराष्ट्र मन्त्री खनालले धन्यवाद व्यक्त गरेका थिए ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम