कोप-३१ मा मन्त्री चौधरीले शेर्पा पहिरन लगाएको तरिकाप्रति आपत्ति
काठमाडौँ । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले शेर्पा समुदायको परम्परागत पहिरन लगाएको तरिकाप्रति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले आपत्ति जनाएकी छन् । उनले मन्त्री चौधरीसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेकी छन् ।
शेर्पाले फेसबुकमा मन्त्री चौधरीले समुदायसँग सल्लाह नगरी परम्परागत पहिरन लगाएको आरोप लगाएकी छन् । शेर्पा महिलाले कम्मरमा बाँध्ने धर्के पहिरन ‘पाङदेन’ लगाउने परम्परागत तरिका पालना नगरिएको उनको भनाइ छ । उनले समुदायको पहिचानसँग जोडिएको पहिरन प्रयोग गर्दा त्यसको सांस्कृतिक अर्थ र लगाउने विधि बुझ्नुपर्ने बताएकी छन् ।
मन्त्री चौधरीको सचिवालयले यसअघि जलवायु परिवर्तनबाट हिमाली क्षेत्र र त्यहाँका समुदायले भोगिरहेका समस्यातर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्न उनले शेर्पा पहिरन रोजेको जनाएको थियो ।
कोप-३१ नोभेम्बर ९ देखि २० सम्म चल्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्किएपछि सम्मेलनका बाँकी बैठक र वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री चौधरीले गर्नेछिन् ।

