मुख्य समाचार

बागलुङमा १० करोडको लगानीमा ‘होटल आँगन’ सञ्चालनमा

बागलुङ । धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी थपिएको छ। बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न सुविधासम्पन्न ‘होटल आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

उद्यमी दुर्गा कुँवरको लगानी तथा नेतृत्वमा सञ्चालनमा आएको यस होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा र ३ वटा सुविधासम्पन्न हल रहेका छन्। नयाँ पूर्वाधारसँगै सञ्चालनमा आएको होटलले जिल्लाको आतिथ्य सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

होटलको समुद्घाटन समारोहमा सहभागीहरूले पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारसँगै गुणस्तरीय सेवा, सुरक्षित बसाइ, स्थानीय स्वाद र आत्मीय आतिथ्यता दिन सके मात्र पर्यटनलाई दिगो आर्थिक गतिविधिका रूपमा रूपान्तरण गर्न सकिनेमा जोड दिएका छन्।

समुद्घाटनका अवसरमा होटल आँगनका सञ्चालक दुर्गा कुँवरसहित सम्पूर्ण परिवारलाई व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिएको छ। साथै, कार्यक्रमको व्यवस्थापन र आतिथ्यताका लागि होटल व्यवसायी महासंघ गण्डकी प्रदेश, बागलुङ होटल व्यवसायी संघका पदाधिकारी, स्थानीय उद्योगी–व्यवसायी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरिएको छ।

यसै सन्दर्भमा देशभरका होटल तथा पर्यटन व्यवसायीको हकहित संरक्षण, लगानीमैत्री वातावरण निर्माण र व्यवसायलाई प्रविधिमैत्री (डिजिटल साक्षरता) बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायी महासंघ नेपालले निरन्तर सहकार्य र साथ दिने प्रतिबद्धता समेत जनाइएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम