दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदमा ठूलो अवसर : गोर्खाली
काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेलहरु ८ गतेदेखि सुरु भइसकेका छन् ।
‘एनआरएनए स्पोट्र्स एकेडेमी’ (गैरआवासीय नेपाली संघ–खेलकुद प्रतिष्ठान) ले प्रतियोगितामा आफ्नो सहभागिता, तयारी र हालसम्मका नतिजाबारे शनिबार पत्रकार सम्मेलन गराएर जानकारी गराएको हो । विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यका साथ एनआरएनएले यसपटक ११ खेलमा प्रतिस्पर्धा गरेको एनआरएनएका युवा उपाध्यक्ष एवं स्पोर्टस एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाले जानकारी दिए । प्रतियोगितामा व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल–कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको पनि उल्लेख गरे । बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्टस एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए ।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीबाट विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा ७९ विधा तथा तौल समूहमा एनआरएनएले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन् । नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका विभिन्न २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीहरूले उल्लेखनीय सफलता हात पारेका छन् । त्यसमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन् ।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्र मा हस्ताक्षर गरेसँगै पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको थियो ।
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो । यसपटक भने कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीहरुलाई खेलकुदको माध्यमबाट मातृभूमीसँग जोड्ने अभियानमा रहेको बताए । यसैगरी आगामी दिनमा एनआरएनएले नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा पनि काम गर्न तयार रहेको बताए ।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सवैको साथ सहयोगले प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गरे । उनले खेलाडीहरुको सुविधामा कुनै कसर बाँकी नराख्ने बताउँदै सहयोग गर्नका लागि आइसीसीका सवैलाई अपिल पनि गरे ।
यस्तै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली)ले एनआरएनएको सहभागिता विभागी टिमहरुसँग प्रतिस्पर्धा भन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागी भएको बताए । यस्तै, आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने पनि अपेक्षा गरे । महासचिव डा. चिरञ्जीवि खड्काले एनआरएनए खेलाडीहरुको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा एनआरएन खेलाडीहरुको छनोट प्रक्रिया लगायतका विषयमा जिज्ञाषा राखेका थिए ।
जवाफमा प्राविधिक निर्देशक रवि शाहीले सवै कागजात हेरेरमात्रै खेलाडी खेलाएको बताउँदै समस्या नहुने प्रष्ट पारे । एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागि हुन जाने केही खेलाडीलाई पनि विदाई गरेको छ ।

