१८ बैशाख २०८१, मंगलवार
Follow Us

नवराज सिलवाल र गोविन्दराज जोशीविरुद्ध उजुरी

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार १३:३२

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर एक उम्मेदवार बनेका पौडेलले जोशीले आफु विरुद्ध बागी उम्मेदबारी दिएपछि उजुरी दर्ता गराएका हुन । जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गरेका हुन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न नपाउने ब्यवस्था छ । पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेश गरेका छन् ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पनि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध नै बागी उम्मेदवारी दिएका छन् । उता वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर एक मा मनोनयन दर्ता गराएका गोदावरीका नवराज सिलवाल विरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै विकाससिंह तामाङले शुक्रबार उजुरी दर्ता गराएका छन् । तामाङले निर्वाचन क्षेत्र नम्बर एकमा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् । सिलवाल भर्खरै एमाले प्रवेश गरेका हुन । उनी प्रहरका पूर्व डीआईजी हुन ।
निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभातर्फ बिहीबार मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आजविरोधको उजुरी दिने समय छुट्टाएको थियो । आज परेका उजुरीमाथि भोली बिहान १० देखि अपरान्ह ३ बजेभित्रमा जाँचबुझ गरी निर्णय गर्ने र भोली ३ देखी ५ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । उम्मेदवारी फिर्ताका लागि आईतबार १० देखि १ बजेको समय दिईएको छ । सोही दिन दिउँसो १ देखि ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ निर्वाचन क्षेत्रका लागि झण्डै १ हजार ८ सयले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभाको २ सय ५६ सिटका लागि झण्डै ३ हजारको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।