२९ भाद्र २०८२, आईतवार
Follow Us

स्थानीय जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

nepalbritain news
२५ पुष २०७४, मंगलवार ०२:२०

खोटाङ । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन्।

पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन्। सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए।

“पोशाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइयो।” उनले भने, “झट्ट हेर्दा नै चिन्न सजिलो होस् भनेर कार्यालय समय र औपचारिक कार्यक्रममा अनिवार्य यस्तो पोशाक लगाउने निर्णय गरिएको हो।”

पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न)समेत अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको प्रमुख चाम्लिङले जानकारी दिए। नेपालको राष्ट्रिय झण्डासहितको खोटाङको नक्सा बनाएर उक्त नक्सालाई दुई हातले माथि उचालेको लोगो (चिह्न) बनाउने तयारी गरिएको पनि जनाइएको छ।

समन्वय समितिले तोकेको पोशाक र लोगो अनिवार्य गर्न नगरपालिका तथा गाउँपालिकाका वडासम्म परिपत्र गरिएको जनाइएको छ। यस्तै, तत्कालीन जिल्ला विकास समितिका सभापतिको तस्वीर संकलन गरेर समन्वय समितिको कार्यालयमा राख्नेसमेत निर्णय गरिएको प्रमुख चाम्लिङले बताए।
-डिसी नेपालबाट ।

धेरै पढिएको