३२ असार २०८२, बुधबार
Follow Us

नयाँ श्रीस्वस्थानी व्रतकथा पुस्ताकको लोकार्पण

nepalbritain news
२० पुष २०७५, शुक्रबार ०१:४२

काठमाडौँ । शताब्दी पुरूष डा. सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा. कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसाईद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गरे।

‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा. मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उनको थप कीर्तिमय जीवनको कामना गरे।

नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा संस्कृत विद्याशिरोमणि प्रा डा वेणीमाधव ढकालले नेपालेश्वरी स्वस्थानी परमेश्वरीका हृदयरसायन दिव्यकथाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ डा. कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसाईद्वारा सरल, सुमधुर तथा साराञ्चित भाषाशैलीमा सम्पादित भएको छ भने।

प्रा डा माधव भट्टराईले डा कञ्चनजङ्घा प्रसाईं र विदुषी प्रसाई दुवै जना विज्ञान क्षेत्रका अध्येता भएर पनि आफ्नो धर्म र संस्कृतिप्रति प्रतिवद्धता देखाएर ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादन गरेर उल्लेखनीय कार्य गरेका बताए। सनातन हिन्दूधर्म र संस्कृतिमाथि चारैतिरबाट प्रहार भइरहेको अहिलेको कालखण्डमा उहाँहरूको ज्ञानचक्षु, निष्ठा र भक्तिभावना अत्यन्तै प्रेरक रहेको पनि उनले बताए।

विसं १९९५ मा आफ्ना बुबा शङ्करदास जोशीबाट नेवारी भाषामा स्वहस्ताक्षरित श्रीस्वस्थानी व्रतकथाको शताब्दी पुरूष डा. सत्यमोहन जोशीले सार्वजनिक गरे। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सम्पन्न समारोहमा उपाध्यक्ष प्रा डा रामप्रसाद उप्रेती, सदस्यसचिव नरेन्द्रराज प्रसाईं र सम्पादक मध्येबाट विदुषी प्रसाईले श्रीस्वस्थानी व्रतकथाको विविध पक्षमाथि प्रकाश पारेका थिए।

विद्यार्थी पुस्तक भण्डारले देशदेशान्तरमा ‘श्रीस्वस्थानी व्रतकथा’ पुर्याउने भएको छ । समारोहमा मृदङ्ग मण्डलीले श्रीस्वस्थानी माताको भजनकीर्तन प्रस्तुत गरेको थियो। शताब्दी पुरूष डा. जोशीका अनुसार मृदङ्ग मण्डलीले एक शताब्दीदेखि नियमितरूपमा श्रीस्वस्थानी व्रतकथामा आधारित भजनकीर्तन प्रस्तुत गर्दै आएको छ।
डिसी नेपाल

धेरै पढिएको