गैर आवासीय नेपाली संघ महिला फोरम अष्ट्रियाले १०९ औं अन्तराष्ट्रिय नारी दिवस अष्ट्रियाको भियनामा भव्य रुपमा सम्पन्न गरेको छ ।
बेटर फर ब्यालेन्स भन्ने अन्तर्राष्ट्रिय नारालाई समेट्दै गरिएको सो कार्यक्रमको औपचारिक उद्घाटन अष्ट्रियाका लागि नेपाली राजदुत प्रकाश कुमार सुवेदी, गैर आवासीय नेपाली संघ युरोप क्षेत्रकी महिला संयोजक संगीता मरहट्टा, एनआरएनए महिला फोरम अष्ट्रियाकी महिला संयोजक भवानी तिवारी र एनसिसि अष्ट्रियाका अध्यक्ष जीवन जंग कुंवरले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत सुवेदीले महिला फोरम अष्ट्रियाले अष्ट्रियावासी महिलाहरुका लागि गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिन सुझावदिनुभयो ।
कार्यक्रमका बिशेष अतिथि एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहट्टाले युरोप क्षेत्रमा रहेका महिला फोरमहरुले अत्यन्तै सक्रिय भुमिका निभाईरहेको बताउंदै युरोप क्षेत्रले कोष संकलन तथा महिला ससक्तिकरणका क्षेत्रमा अक्बल काम गरिरहेको बताउनुभयो । उहांले यस अभियानमा अत्यन्त थोरै संख्यामा नेपालीहरु रहेको अष्ट्रियामा महिला फोरमले गरिरहेको गतिविधि अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । उहांले महिला फोरमले अत्राष्ट्रिय स्तरमा र युरोप क्षेत्रमामहिला स्वास्थ्य, सीपमुलक तालीमहरु तथा भावी कार्यक्रमहरुका बारेमापनि प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रमका सभापति तथा महिला फोरम अष्ट्रियाका महिला संयोजक भवानी तिवारीले विविध अप्ठ्याराहरुका बाबजुद महिलाफोरम अष्ट्रियाले वान युरो परियोजना लगायतका कामहरु सफल रुपमा अघि बढाईरहेको र महिला सहभागीतामा अत्यन्त वृद्धि हुंदै गैरहेको बताउनुभयो । उहांले १०९ औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो।
एन आर एन ए एनसिसि अष्ट्रियाका अध्यक्ष जीवन जंग कुंवरले अन्तराष्ट्रिय नारी दिवस पहिलो पटक मनाउने देशमध्ये अष्ट्रिया पनि एक रहेको इतिहास स्मरण गर्दै एन आर एन ए एनसिसि अष्ट्रियाले महिला फोरमका गतिविधिमा सधैं सहयोग गर्दै आएको बताउनुभयो ।
बालबालिकाहरुको सुन्दर नृत्यहरु समेटिएको सो कार्यक्रममा संघर्षका पाइलाहरु नामक वैदेशिक रोजगारीमा महिलाहरु ठगिएको बिषयमा चेतनामुलक लघुनाटक प्रस्तुतगरिएको थियो ।
सो कार्यक्रममा एन आर एनए अष्ट्रियाका संस्थापक अध्यक्ष शुभ राणा, प्राध्यापक डा. अल्काआत्रेय, एर्स्ते बैंककी शाखा निर्देशक हिमाली उपाध्याय, जनजाती महासंघ अष्ट्रियाकी उपाध्यक्ष अनिता भुजेल, नेसास अष्ट्रियाकी मन्जु खड्काले मन्तव्य दिएका थिए भने एनसिसि अष्ट्रियाकी महिला उपाध्यक्ष नीरा लामिछानेले स्वागत मन्तव्य दिएकी थिईन् ।