४ श्रावण २०८२, आईतवार
Follow Us

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने तयारी

nepalbritain news
३० फाल्गुन २०७५, बिहीबार ०३:२३

काठमाडौँ । जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ।

रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था छ । रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो ।

निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताए।

पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झण्डै १० महीना लाग्ने जनाइएको छ। विसं २०६९ देखि नयाँ रिफ्युलर नेपालमा आएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जीर्ण अवस्थाका आठ वटा रिफ्युलर छन्।

धेरै पढिएको