१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

sarusaru
३ जेष्ठ २०७६, शुक्रबार ०३:०५

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको हो ।

बैठकले सबै जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ । मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ ।

गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सकेर आएपछि बिहीबार सचिवालय बैठक बसेको थियो । नेकपाले शुक्रबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
रासस