२५ बैशाख २०८१, मंगलवार
Follow Us

भारतबिरुद्ध ह्वाइट हाउस अगाडि प्रदर्शन

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७६, सोमबार १५:५७

वासिङ्टन डिसी । भारतले हालै जारी गरेको राजनैतिक नक्सामा नेपाली भूमि पनि पारेपछि त्यसको विरोधमा अमेरिकाबासी नेपालीहरुले अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित व्हाईट हाउस अगाडि डिसेम्बर १५ तारिक आइतबार प्रदर्शन गरेका छन् ।

अमेरिकाको स्थानीय राजनीतिमा संलग्न रहेका नेपाली मूलका अमेरिकी नेताहरु समेत सहभागी रहेको सो प्रदर्शनमा गो ब्याक ईन्डिया को नारा लगाइएको थियो ।

राष्ट्रपती भबन व्हाईट हाउस अगाडिको लफ़ायत पार्कमा भएको यही बिरोध प्रदर्शनमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतबाट मिचिएको नेपाली भूमिबारेतथ्यगत जानकारी गराएका थिए । नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत तथा बरिष्ठ लोकगायक प्रेमराजा महतको रास्ट्रिय गीतबाट बिरोध सभा शुरु भएको थियो।

क्यालिफोर्निया देखी आएका एएनएका पुर्ब अध्यक्ष रोजर अधिकारी, एएनएका बरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी र बिरोध प्रदर्शन आयोजक समितिका संयोजक कुलमणि आचार्यले भारतले नेपालको सिमाना मिचेको बारेमा अमेरिकी सरकार, यहॉको संसद र अमेरिकामा रहेका विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

कुनै नेपाली संस्थाको नाममा नभएर सम्पूर्ण नेपालीहरुको संयुक्त आयोजनामा बिरोध प्रदर्शन गरिएकोले अमेरिकामा हुने अन्य कार्यक्रमहरुमा जस्तो संघ संस्थाका पदाधिकारीहरुको भाषणहरु राखिएको थिएन । कलाकारहरु खेम संग्रौला, पुष्पा घिमिरे र रामप्रसाद खनालले भारतले गरेको अन्यायका बिरुद्धमा देशभक्तिपूर्ण गीत गाएका थिए।

स्वयंसेवकहरुको संयोजन गरेका प्रबासी नेपाली एकता मंचका अध्यक्ष प्रभु थापाले व्हाईट हाउस देखि भारतीय दुतावाससम्म सडकको रुटबारे प्रदर्शनकारीहरुलाई जानाकारी गराएपछि प्लेकार्ड र ब्यानर बोकेका नेपालीहरुको जुलुशले व्हाईट हाउस अगाडिको लाफायत पार्क परिक्रमा गरेर जुलुश वासिंगटन डिसीको सडकमा निस्केको थियो।सो जुलुस डिसीस्थित भारतीय दुतावाससम्म पुगेर बिरोधसभामा परिणत भएको थियो ।