२५ बैशाख २०८१, मंगलवार
Follow Us

बुढानीलकण्ठ र बोहोराटारमा अल्झियो कांग्रेसको बैठक

नेपालब्रिटेन संवाददाता
२ पुष २०७६, बुधबार १२:५२

काठमाडौं । नेपाली कांग्रेसको बैठक बस्ने मिति तोकिन्छ तर बैठक बस्न सक्दैन । संस्थापनइतर पक्षलाई सहमतिमा ल्याउन बैठक बस्न नसकेको हो । कांग्रेस केन्द्रीय समितिको बैठक आजका लागि तोकिएको थियो, तर आज पनि पौडेल र सिटौला पक्षले बहिष्कार गरेपछि बैठक बस्न सकेन । बैठक ४ गते शुक्रबारका लागि बोलाइएको छ ।

सभापति देउवाले मंसिर २६ गते केन्द्रीय समिति बोलाए पनि अहिलेसम्म बैठक एजेन्डमा प्रवेश गर्न सकेको छैन । महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग लिएको छैन ।

पौडेल पक्षले उठाएको महाविधेशनको कार्यतालिका सम्बोधन गर्न संस्थापन पक्ष तयार भए पनि भागवण्डामा अन्तिम सहमति हुन बाँकी छ । संस्थापन पक्षले ६० प्रतिशत आफ्नो समूहलाई छुट्याएर ४० प्रतिशत पौडेल समूहलाई दिने तयारी गरेको छ । ६० प्रतिशतमा देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षलाई समेत समेट्ने बताइएको छ ।

बैठक स्थगनसँगै संस्थापन र असन्तुष्ट दुवै पक्षका नेताहर आन्तरिक छलफल र गुट बैठकमा व्यस्त भएका छन् । यसैबीच, देउवा निवास बुढानीलकण्ठमा पनि संस्थापन पक्षको अनौपचारिक छलफल भएको छ ।

त्यसैगरी असन्तुष्ट समूहको बैठक असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बसेको छ । छलफलमा प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला लगायतको सहभागिता छ । पौडेल र सिटौला पक्षले निरन्तर असहयोग गरेको भन्दै संस्थापन पक्ष पेलेर जाने रणनीति बनाएपछि देउवालाई दबाब दिन असन्तुष्ट पक्ष आन्तरिक छलफलमा जुटेको छ ।