२० बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसले तोक्यो महाधिवेशन मिति, २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन

नेपालब्रिटेन संवाददाता
११ पुष २०७६, शुक्रबार १४:५५

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको मिति तोकेको छ ।

शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरेको हो । यस्तै, बैठकले केन्द्रीय विभागहरु थप्ने निर्णय गरेको छ । भातृसंगठन तरुण दलको म्याद ६ महिना थपेको छ । नेविसंघबारे निर्णय गर्ने अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको जनाइएको छ ।

आन्तरिक विवाद समाधान नभएको भन्दै असन्तुष्ट पक्षले शुक्रबार पनि केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो । आन्तरिक विवाद समाधान नभएसम्म बैठकमा सहभागी नहुने भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बोलाएको बैठक बहिस्कार गरेको हो ।

दिउँसो पूर्वमहान्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको असन्तुष्ट पक्षका नेताहरुको बैठकले सभापति देउवा विवाद समाधान गर्न तत्पर नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । गएको मंसिर २६ गते बसेको बैठकमा सभापति देउवाले प्रस्ताव गरेका विभागहरु, विभागको नेतृत्व र भातृसंगठनको तदर्थ समिति गठनलगायतका विषयमा इतर पक्षको असहमति छ ।