२० बैशाख २०८१, बिहीबार
Follow Us

मकवानपुर सुमो दुर्घटना : छ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ पुष २०७६, शुक्रबार १५:०१

हेटौडा । मकवानपुरमा आज अपरान्ह भएको सुमो दुर्घटनामा परी हाल सम्म ६ जनाको ज्यान गएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना. १ ज ३४३३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ ओखरडाँडाको भीरबाट खसेको थियो ।

हेटौंडा –सिस्नेरी–काठमाडौँ सडकखण्डमा पर्ने सो भीरबाट करीब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चन्द्रनिगाहपुको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका शिक्षक मनिष विश्वकर्मा र उनकी श्रीमती सृजना विश्वकर्मा, रौतहट चन्द्रपुर नगरपालिका मिलनचोकका केदार तिमल्सिना, सप्तरीको नेत्र बहादुर विश्वकर्मा र उनकी श्रीमतीको ज्यान गएको छ ।

अर्का एकजनाको भने पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक ललन राउत कुर्मीले जानकारी दिएका छन् । सो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा ज्यान गएको हो ।

सुमोमा सवार अन्य ३ जना घाइतेहरुको काठमाडौमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण तीब्र गति रहेको प्रहरीले अनुमान गरेको छ ।