२९ बैशाख २०८१, शनिबार
Follow Us

बाह्रविसे बजारमा निषेधाज्ञा जारी

नेपालब्रिटेन संवाददाता
५ माघ २०७६, आईतवार ०३:५३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएको विरुद्ध स्थानीयहरुले विरोध प्रदर्शन गरेपछि बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरिएको छ ।

विरोधमा उत्रिएका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३क) बमोजिम उक्त आदेश जारी गरेको बताएको छ ।

आदेश अनुसार बाह्रविसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रविसेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।