२० बैशाख २०८१, बिहीबार
Follow Us

मृत्यु हुनेको संख्या ३ सय ६१ पुग्यो, प्रभावित क्षेत्रमा चिनियाँ आर्मीका १४०० स्वास्थ्यकर्मी

नेपालब्रिटेन संवाददाता
२० माघ २०७६, सोमबार ०५:३७

बेइजिङ । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा अति तीव्र गतिमा निर्माण भएको नयाँ अस्पताल सञ्चालन हुँदैछ । कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारका लागि हप्ता दिनमै १ हजार शैयाको अस्पताल चीनले निर्माण गरेको हो । सबै निर्माण ८ दिनमा सम्पन्न गरेर सो अस्पताललाई सुविधा सम्पन्न बनाइएको छ ।

चीनका अधिकारीहरूका अनुसार वुहानमा आइतबार निर्माण सम्पन्न भएको अस्पताल सोमबारदेखि नै सञ्चालनमा आउन लागेको हो । सो अस्पतालमा चिनियाँ आर्मीका १४ सय स्वास्थ्यकर्मी खटिएका छन् । यस्तै १३ सय शैयाको अर्को अस्पताल पनि द्रूत गतिमा निर्माण भइरहेको छ । यस्तै अर्को अस्पताल बुधबारसम्म बनिसक्ने छ ।

चीनमा हालसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । चीनमा मात्रै १७ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । चीनबाहिर नेपालसहितका देशमा गरी १ सय ५० जना भन्दा बढी संक्रमित भएका छन् । विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४ सय ७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन् ।