काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन ।
नेता कोइरालाले देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको बताएका छन ।
उनले पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने बताए । आज (शनिबार) विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन ।
नेता कोइरालाले भने, ‘अहिले छलफलमात्रै भएको हो ।’ शुक्रबार बसेको पार्टीको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने विचार राखेका थिए । ‘म पनि त्यो केन्द्रीय कार्यसमिति बैठकमा छु । कसले के बोल्नुभयो, कसो बोल्नुभयो सबै थाहा छ,’ कोइरालाले भने, ‘केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्नसक्ने अवस्था छैन ।
कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हो ।’ नेता कोइरालाले देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको पनि उल्लेख गरे ।
उनले भने, ‘संविधानलाई धेरै नचलाइ न्युनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । त्यो चुनाव हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ साथै, संविधानको धारा ६१ को उपधारा ४ लाई टेकेर राष्ट्रपतिले निर्वाचन घोषणा गरेको र त्यसले संविधान डिरेल हुनबाट जोगिएको पनि बताए ।