७ जेष्ठ २०८१, सोमबार
Follow Us

नवलपरासीमा ट्याक्टर दुर्घटना, चारको मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७६, बुधबार ०३:१९

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मंगलबार साँझ लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा परेको हो । कच्ची सडकमा अचानक अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । त्यसैगरी ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।