२२ बैशाख २०८१, शनिबार
Follow Us

आइतबार रातिबाट नेपाल प्रवेशका २० नाका बन्द

sarusaru
३ चैत्र २०७६, सोमबार ०४:३७

काठमाडौं । नेपाल भारत सीमा जोडिएका २० नाका आइतबार रातिबाट बन्द हुने भएका छन् । भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाका आज (आइतबार) राती १२ बजेदेखि बन्द गर्ने भएको हो । ‘नेपालसँग जोडिएका २० नाका अल्पकालिन रुपमा बन्द गर्ने निर्णय गरेको छ त्यसको जानकारी नेपाललाई समेत गराइसकेको छ’, गृहमन्त्रालय स्रोतले भन्यो, ‘औपचारिक पत्र आएको छैन तर जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले यसलाई समन्वय गरिरहेका छन् ।’

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु आज राति १२ बजेदेखि बन्द गर्ने भएको हो । नेपाल सरकारले पनि आवश्यक काम बाहेक सीमा नाकामा नजान निर्देशन दिएको छ ।

गृहमन्त्रालयका अनुसार केही समयका लागि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउने भएका छन् भने अन्य नाकाहरु भने बन्द हुने छन् । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मूख्य नाकाहरु खुला रहेको बताएका छन् । उनका अनुसार तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् ।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । भारतमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने ८२ जना संक्रमित भएको पाइएससँगै भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको हो । यसैगरी भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ ।

साथै सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश निषेध गरिएको छ । यसैगरी भारत सरकारले पर्यटक भिसा बन्द गर्ने र कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ । नेपाल सरकारले पनि कोरोनाको उच्च संक्रमण भएका ८ वटा देशबाट हुने आयातमा रोक लगाइसकेको छ ।

सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट हुने आयातमा रोक लगाएको हो । कोरोना बढी संक्रमित रहेका भनिएका यी मुलुकबाट हुने खाद्यान्न र पशुजन्य वस्तुहरूको आयातमा रोक लगाएको हो । अध्यागमन विभागले कोरोनाको बढी संक्रमित भएका देशहरूबाट हुने आयात रोक लगाउनु भनेपछि सरकारले आयातमा रोक लगाउने निर्णय गरेको थियो ।
डिसी नेपाल