३० बैशाख २०८१, आईतवार
Follow Us

सामाजिक अभियन्ता भगवती रानाभाटलाई कोरोना भाइर

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७६, सोमबार ०५:०६

लन्डन — लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् ।

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्। ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत भनेकी छिन्।

फेसबुकमा आफ्नो संक्रमणबारे राख्ने सोच नभए पनि आफन्त एवं साथीभाइलाई थप भयावह बनाउला भन्ने सोचेर पूर्व सतर्कताका लागि पोस्ट गरेको उनको भनाइ छ। उनले सबैलाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरेकी छन्। उनलाई सयौंले आत्मबल बढाउन र शीघ्र स्वास्थ्यलाभका लागि कामना गरेका छन्।

पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले समात्यो। छोरी फर्मासिस्ट भएकाले सिटामोल र आइबुप्रोफिन लिन सुझाइन्।

औषधिले निको नभएपछि गत १८ तारिख बुधबार हस्पिटल गएर एक्सरे गरेपछि एन्टिकायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ। उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन्।

‘कोभिड १९’ का कारण बेलायतमा आइतबारसम्म २८१ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ६ सय ८३ मा संक्रमण पाइएको छ।

‘कोभिड १९’ संक्रमण फैलिएसँगै बेलायतको नेपाली समुदाय पनि सतर्कता अपनाउन लागेको छ। कोरोनाभाइरस संक्रमण तीव्र भइरहँदा नेपालीमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न लन्डनस्थित नेपाली दूतावासले राजदूत दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरेको छ।

दूतावासले जनस्वास्थ्य तथा सचेतना सहयोग समिति, स्वयंसेवक सहयोग समिति, वृद्धवृद्धा तथा भूतपूर्व गोर्खा सहयोग समिति,युवा तथा विद्यार्थी सहयोग समिति रसूचना संकलन सहयोग समिति गठन गरेको हो। गैर आवासीय नेपाली संघ बेलायतले पनि कोरोना हेल्पलाइन सुरु गरेको छ।