१५ असार २०८१, शुक्रबार
Follow Us

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७७, बुधबार १०:२३

काठमाडौं । सरकारले जारी लकडाउनलाई जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले पाँचौपटक लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । बैशाख २५ गतेसम्म कायम रहेको लकडाउनलाई थप दश दिन बढाउने निर्णय बैठकले गरेको हो ।

संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने निस्कर्ष सहित समय थप गरिएको बताइएको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको हिजो बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको जोखिम फैलिन नदिन ११ चैतदेखि लकडाउन लागू गराउँदै आएको छ । पछिल्लोपटक बैशाख १४ गते चौथोपटक थपिएको लकडाउन अवधि भोलि सकिँदै थियो ।

चैत ११ मा लकडाउन शुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् । डेढ महिना अवधिमा पनि सरकारले परीक्षण दायरा बढाउन सकेको छैन । र्‍यापिड टेस्ट ‘भरपर्दो’ नहुने र पीसीआर टेस्ट सबै ठाउँमा पर्याप्त मात्रामा नभएकाले परीक्षण नै सुस्त भइरहेको छ ।