१५ असार २०८१, शुक्रबार
Follow Us

कतार च्यारिटीबाट स्वास्थ्य सहयोग

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७७, सोमबार १०:५६

कतार च्यारिटीले तीन प्रदेशका लागि कोभिड–१९ को उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ । च्यारिटीले प्रदेश नम्बर १, २ र ५ का लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) र ज्वरो नाप्ने थर्मल गन सहयोग गरिएको जनाएको छ ।

सात सय थान पिपिइ र १२६ थान थर्मल गन प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्साद अली शेखले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमार्फत तीन सय थान पिपिइ र २६ थान थर्मल गन स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरलाई हस्तान्तरण गरिएको हो । त्यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमार्फत एक सय थान पिपिई र ३१ थान थर्मल गन स्वास्थ्य व्यवस्थापन केन्द्र जनकपुर तथा प्रदेश ५ का लागि तीन सय पिपिई र ७० थान थर्मल गन स्वास्थ्य व्यवस्थापन केन्द्र बुटवललाई हस्तान्तरण गरिएको हो ।

प्रबन्धक शेखका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको कामलाई सहयोग गर्न र बढी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षणका लागि सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको हो । लकडाउनका कारण समस्यामा परेका सुनसरीका मजदूर तथा विपन्न ५६० घरपरिवारलाई खाद्यान्न सामग्री पनि संस्थाले सहयोग गरेको थियो । च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, विद्यालयमा चर्पीलगायत आवश्यक पूर्वाधार निर्माण तथा कमजोर आर्थिक अवस्था भएकालाई आर्थिक सहयोग गर्दै आएको छ ।