२ असार २०८१, शनिबार
Follow Us

नेकपा एकताको २ वर्ष पूरा, प्राथमिकतामा गुटबन्दी

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७७, शनिबार ०५:०२

काठमाडौं । लामो समयसम्म पानीबाराबारको अवस्थामा रहेका दुई कम्यूनिष्ट पार्टीबीच अन्ततः पार्टी एकता भयो । तर दुईपार्टी एकता भएको २ वर्ष बितिसक्दा पनि भावनात्मक एकता त हुन सकेको छैन नै, एकीकृत भनिएको पार्टी भित्र भागभण्डा र गुटबन्दि तीव्र बन्दै गएको छ ।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने दशैंमा रमाइरहेकाहरुलाई ‘सरप्राईज’ दिने योजना बुन्दै थिए । यो कम्तिमा एक दशक लामो प्रयासको प्रतिफल थियो । लामो समय पानी बाराबारको अवस्थामा रहेको दुई पार्टी बिच अन्ततः एकता भयो ।

तत्कालीन एमाले, र माओवादी केन्द्रले ‘सरप्राइज’ दिएपछि देशको राजनीतिमा तरंग नै उत्पन्न भयो । यसले सरकार संचालनको बागडोर सम्हालेको नेपाली कांग्रेस अचम्मित बन्यो । केन्द्र र प्रदेशको चुनावमा तालमेल गर्दै पार्टी नै एकता गर्नेसम्मको निर्णयले मुलुकमा नयाँ राजनीतिक माहोल सृजना भयो ।

गठबन्धनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी आए । कतिपयले गठबन्धनलाई चुनावसम्म मात्रै सीमित हुने आंकलन गरे भने कतिपयले यो तालमेललाई चुनाव जित्ने अस्त्र भने । विभिन्न आशंका र अड्कलबाजीका बाबजुद ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीचको एकीकरणले मूर्त रुप लियो ।

एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी नेपालकै ठूलो र एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल समेत बन्न पुग्यो । अन्तरपार्टी निर्देशनमा संकल्प गरेजस्तै नेकपामा फटाफट काम भएन । पार्टी एक भएको दुई वर्ष पूरा भएपनि भावनात्मक एकता देखिएको छैन ।

नेतृत्वबीच नै खटपट आउँदा पक्ष विपक्ष लिएर कार्यकर्ताले वाद विवाद गर्दा पुर्व एमाले र पूर्व माओवादी प्रस्टै छुटीने गरेका छन् । एकतापछि पार्टी संस्थागत हुन सकेको छैन । विभिन्न प्रकारका गुटहरू झाङ्गिँदै जान थालेका छन् । सत्तामा भागभण्डा गर्ने परिपाटी र गुटगत आन्तरिक राजनीतिको अत्य नहुँदा नेकपाका कार्यकताबीच भावनात्कम एकताको महशुस हुन सकेको छैन ।