४ असार २०८१, सोमबार
Follow Us

कोभिड-१९ पछि लाप्राक नमुना बस्तीको निर्माण सुचारु (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०७७, सोमबार ०४:०१

काठमाडौं । कोरोनाको महामारीले स्थगित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को लाप्राक नमुना बस्ती परियोजनाको काम सुचारु भएको छ । झन्डै साढे दुई महिनापछि सञ्चालनमा आएको उक्त निर्माण कार्यक्रममा स्थानीय युवालाई सहभागी गराइएको एनआरएनएले जनाएको छ ।

स्थानीय युवा तथा लाभाग्राहीहरु कोरोनाको असरले गाउँमै बस्ने भएकाले एनआरएनए उपाध्यक्ष तथा लाप्राक नमुना बस्ती परियोजनाको संयोजक सोनाम लामाको नेतृत्वमा गएको टोलीले धार्चे गौपलिकाको अध्यक्ष सन्तोष गुरुङ र वडा नं ४ अध्यक्ष राज गुरुङ तथा लाभग्राहीसँग छलफल गरी लाप्राक नमुना बस्तीको निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

उक्त टोलीमा संघको कार्यकारी निर्देशक राजेश राणा र पुर्व परियोजना व्यवस्थापन समिति सदस्य श्याम तामांग तथा धार्चे गाउँपालिका वडा नं ४ को बुद्धिजीवी तथा अत्याधिक लाभग्राहीहरुको उपस्थिति रहेको थियो । सोही क्रममा लाप्राक स्वास्थ्य चौकीलाई कोभिड १९ रोकथामको लागि आवश्यक केही स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरिएको एनआरएनएले जनाएको छ ।

बैठकमा यस्ता निर्णय भए

  • मौसम प्रतिकुल भएको कारणले धार्चे गाउँपालिकाको नेतृत्वमा परियोजनालाई ३ महिनाभित्र सक्ने सहमति गाउँपलिकासंग गरिएको छ ।
  • काठको तला थप्नको लागि गाउँपालिकाको नेतृत्वमा लाभाग्राहीहरुले आफै काठको व्यवस्थापन गरि निर्माण कार्य गर्ने र उनीहरुको ज्याला बराबरको रकम गाउँपालिकाको खातामा गैरआवासीय नेपाली संघले जम्मा गरिदिने सहमति गरिएको छ ।
  • शौचालय निर्माणको बाकी कार्य तथा घरमा विद्युत जडान गर्ने कार्य गाउँपालिकाको नेतृत्वमा तालिमप्राप्त लाभाग्राहीहरुले गर्ने र सो काममा लाग्ने सामग्री तथा ज्याला बराबरको रकम गैरआवासीय नेपाली संघले उपलब्ध गराउने सहमति गरिएको छ ।
  • लाप्राक नमुना बस्तीमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत आपूर्ति गर्न गाउँपालिका तथा गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ ।
  • लाप्राक नमुना बस्ति परियोजनामा पूर्वाधार विकासको लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणबाट प्राप्त हुने सहयोगको लागि गाउँपालिका तथा गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ ।