३० बैशाख २०८१, आईतवार
Follow Us

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता २० जना भेटिने सम्भावना न्यून

नेपालब्रिटेन संवाददाता
३१ असार २०७७, बुधबार ०५:२९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक साता अघि पहिरोमा परेर बेपत्ता फेला पार्ने सम्भावना न्यून देखिएको छ । बेपत्ता बीस जनाको खोजी जारीरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको आशंका गरिएको छ । चार दिनदेखि स्काभेटर लगाएर खोजी गर्दा पनि बेपत्ताको शव नभेटिएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला ठूला ढुंगा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेको छ । उद्धारका लागि काठमाडौँबाट गएको २५ सदस्यीय टोली समेत मंगलबार काठमाडौं फर्केको छ । बाह्रबिसे नगरपालिका ५, जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको छ । बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ ।

भोटेकोसी नदीले बगाएको जुरेको करिब १ सय ५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने गरी सडक निर्माण गरेपछि बाह्रबिसेसम्म भने सवारी साधन चल्न थालेका छन । बाह्रबिसे नगरपालिका ५, खागदल र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गरी दुई बेलिब्रिज राख्ने तयारी गरिएको छ ।