१९ जेष्ठ २०८१, शनिबार
Follow Us

केकीको ‘बोक्सीको घर’ ले बेलायतमा मन जित्यो, पहिलो शो मै हाउसफुल

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०८१, शुक्रबार २२:२८

लण्डन । केकी अधिकारीको चलचित्र ‘बोक्सीको घर’ बेलायतका सिने हलहरुमा प्रर्दशन सुरु भएको छ ।

शुक्रबार देखि प्रर्दशन सुरु भएको सो चलचित्रले पहिलो दिनमै राम्रो व्यापार गरेको छ । नेपालीहरुको बाक्लो उपस्थिति रहेको अल्डरशट, फेलथाम, बेजिङस्टकका ओडियन र सिनेवल्र्ड दर्शकहरुले हाउस फुल बन्यो ।

चलचित्रमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ ।

अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई चलचित्रले उजागर गरेको छ ।

बेलायतमा चलचित्रको व्यवस्थापनको जिम्मा लिएका रविन भारतीले बोक्सीको घर बेलायतका थप शहरहरुमा समेत प्रदर्शनको तयारी गरिएको बताए ।

चलचित्रमा मुख्य कलाकार केकी अधिकारलगायत कलाकारलाई देख्न सकिन्छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्र कथा घुमेको छ । चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गरेको छ ।

यसैबीच बोक्सीको घर बेलायतको प्रतिष्ठित ओ टु ग्रीनवीचको सिने वल्र्डमा मे २५ तारिखमा विशेष प्रर्दशन हुने भएको छ ।