३१ बैशाख २०८१, सोमबार
Follow Us

प्रधानमन्त्रीले गलत प्रचार गराएको अध्यक्ष दाहालको दाबी

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७७, आईतवार ११:४९

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले हुँदै नभएको सहमतिलाई सहमति भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गलत प्रचार गराएको गुनासो गरेका छन् । आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई बोलाएर दाहालले यस्तो गुनासो गरेका हुन् ।

अध्यक्ष दाहालले सहमति नै नभएको विषयलाई प्रचार गराएर आफूलाई कमजोर बनाउने काममा प्रधानमन्त्री ओली आफै लागेको बताएका थिए । उनले ओलीसँग कुनै सहमति नभएको दाबी पनि गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । दाहालले एकीकरण प्रक्रिया समेत टुंगिइ नसकेको अवस्थामा भन्दिएकै आधारमा महाधिवेशन हुन नसक्ने पनि बताएका थिए ।

बैठकमा सचिवालय सदस्यहरुसँगै स्थायी समिति सदस्यहरू भीम रावल, भीम आचार्य, वेदुराम भुषाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली सहभागी थिए । त्यस्तै वर्षमान पुन, मातृका यादव, पम्फा भुषाल लगायत पनि बैठकमा सहभागी थिए । खुमलटारको बैठकलाई लिएर प्रधानमन्त्री ओली अध्यक्ष दाहालसँग झस्किएको बताइन्छ । यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपछि पार्टीमा नयाँ विवाद सिर्जना भएपछि आज दिउँसो तीन बजेका लागि तय गरिएको बैठक स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्रीको सचिवालयले बैठक स्थगित भएको जानकारी गराउने गरेको थियो । आज भने पार्टी केन्द्रिय कार्यालयले विज्ञप्ती जारी गर्दै बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित भएको जानकारी दिएको हो ।

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ । सोही कारण असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन ।