१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको साधारण सेयर निष्काशन हुँदै

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७७, मंगलवार ०४:४०

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन हुँने भएको छ। कम्पनीले साउन १६ गते आइपिओ बिक्री निष्काशन गर्ने जनाएको छ।

सर्वसाधारण समूहमा बिक्रीका लागि राखिएको ३० प्रतिशत रकम अर्थात् ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको साधारण सेयर साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको बिक्रीका लागि खुला गरिनेछ। कम्पनीले अन्य पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य लिएको छ। हालसम्म कम्पनीको सञ्चालन मुनाफाबाट ७ दशमलव ३९ प्रतिशत बोनस सेयर लगानीकर्ताहरुलाई वितरण गरिएको छ।

यस कम्पनीबाट सर्वसाधारणका लागि बिक्रि गरिने उक्त सेयरमा गैरआवासीय नेपालीहरुले समेत लगानी गर्न सक्नेछन्। यो कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। हाल जारी पुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय रुपैयाँमध्ये संस्थापक समूहको ७० प्रतिसत अर्थात् ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैयाँ चुक्ता भइसकेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी स्थापना विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकीकृत गरी नेपालका विभिन्न आयोजनामा लगानी गर्ने उद्देश्यले २०६९ सालमा स्थापना भएको हो। यो कम्पनीमा हाल ७ सय ९५ जना संस्थापक सेयरधनीहरु रहेका छन्। कम्पनीमा गैरआवासीय नेपाल संघका पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो, जिवा लामिछाने, डा शेष घले, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त लगायत अन्य गैरआवासीय नेपालीहरुको लगानी रहेको छ।

कम्पनीले हालसम्म लमजुङ जिल्लाको दोर्दी खोला जलविद्युत् आयोजना (२७ मेगावाट), सानिमा मिडिल तमोर हाईड्रोपावर आयोजना (७३ मेगावाट), तल्लो लिखु जलविद्युत् आयोजना (२८.१ मेगावाट) र माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मेगावाट) लगायतका आयोजनाहरुमा लगानी गरेको छ। दोर्दी खोला जलविद्युत् आयोजना यसै वर्षभित्र सम्पन्न भई सञ्चालनमा आउने छ भने अन्य आयोजनाहरु २ वर्षभित्र सम्पन्न हुने गरी निर्माणाधिन अवस्थामा रहेका छन्।

धेरै पढिएको