१ श्रावण २०८२, बिहीबार
Follow Us

सञ्चालनमा आयो विश्वको लामो पुल

nepalbritain news
१६ श्रावण २०७७, शुक्रबार ०६:२७

बागलुङ– बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रवारदेखि अनौपचारिक रूपमा सञ्चालन भएको छ । निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि शुक्रवारदेखि पुल सञ्चालनमा आएको हो । यो पुल सिंगल स्पानको संसारकै लामो पुल भएको दावी गरिएको छ । बागलुङ नगरपालिका– १ रामरेखादेखि पाङको अदुवाबारी जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हाल सम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको हो ।

अब दुवै जिल्लाले शुक्रवारदेखि झोलुङ्गे पुलमा ओहोरदोहोर गर्न पाउने गरी सबैका लागि खुल्ला गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘औपचारीक उद्घाटन पछि हुन्छ, सर्वसाधारणका लागि खुल्ला गरियो’ पौडेलले भने ‘कोरोना महामारीका कारण बनेको लामो समय खुल्ला गर्न सकिएको थिएन् ।’ ५ सय ७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो । २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लट्ठा तान्दा समय लागेको थियो ।
निर्माण कम्पनीले बागलुङ र पर्वत तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो । पुलले एक पटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने गरी क्षमता रहेको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आए पछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत यसले आकर्षित गर्नेछ ६ करोड ९१ लाखमा निर्माण सम्झौता भएको पुलको जम्मा लागत १० करोड रुपैयाँ हो । यो पुल संसारकै लामो दावी गर्नका लागि गिनिज बुक अफ दि वर्डमा पठाउने तयारी भैरहेको छ । ‘नाप जाँच, प्राविधि मुल्यांकन लगायतका काम चलिरहेका छन्’ पौडेलले भने ‘प्रकृाय बुझेर काम अघि बढेको छ, सबै काम सकिए पछि मन्त्रालय मार्फत पत्र पठाउँछौं ।’ ब्राजिलमा बनेको सिंगल स्पानको अहिले सम्मको लामो पुल भन्दा बागलुङको यो पुल लामो भएको दावी नगरपालिकाले गर्दै आएको छ ।
रासस

धेरै पढिएको