काठमाडौं । कोरोना संक्रमणले बुधबार थप ७ जनाको ज्यान गएको छ । जनकपुरका ३ जना, बुटवलका २ जना र मोरङ र बाराका १–१ जनाको बुधबार निधन भएको छ ।
आज थपिएका ७ जनासहित नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९० पुगेको छ । यो एक सातामा संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । साउन २२ गते ६३ जनाको निधन भएको थियो भने आज बुधबारसम्म त्यो संख्या बढेर ९० पुगेको हो ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुष र कृष्णनगर नगरपालिका–१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।
यस्तै ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना भएकी जनकपुरकी एक महिनाको पनि बधुबार निधन भयो । उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।
जनकपुरका होटेल व्यवसायी कृष्ण गिरीको पनि बुधबार मृत्यु भयो । २० दिनदेखि काठमाडौंमा उपचार गराइरहेका गिरीको गएराति मृत्यु भएको हो । मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।
यता, महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । मटिहानी नगरपालिका वडानम्बर–६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा मृत्यु भएका ती पुरुषको शवलाई गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको मेयर मण्डलले बताए ।
यस्तै, कोरोना संक्रमित एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । मोरङको बुढीगंगा गाँउपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारका क्रममा आज बुधबार बिहान मृत्यु भएको हो ।
ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो। उनी दम तथा मुटु रोगी थिए। आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो।