२ श्रावण २०८२, शुक्रबार
Follow Us

भारतमा कोरोनाविरुद्धको तीन वटा खोप तयार भइरहेको प्रम मोदीको दाबी

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७७, शनिबार ०७:२२

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध आफ्नो देशमा तीनवटा खोप तयार भइरहेको दाबी गरेका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको खोप निर्माण भइरहेको जनाएका हुन् ।

महामारीका कारण नागरिक चिन्तित रहेको भन्दै उनले तीनवटा खोपको विकास भइरहेको जानकारी दिए । तीनवटै खोपको फरक–फरक चरणमा परीक्षण भैरहेको र स्वीकृति पाउने वितिक्कै ब्यापक मात्रामा खोप उत्पादन गर्ने योजना सरकारले बनाएको पनि मोदीले जानकारी दिए ।

प्रधानमन्त्री मोदीले भारतले छिमेकी मुलुकहरुसँगको सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ गहिरो बनाइरहेको पनि दावी गरे । उनले भारतको भौगोलिक सीमाले छुने मुलुकमात्र छिमेकी मात्रै नभएर भावना मिल्ने पनि छिमकी मुलुक भएको उल्लेख गरे ।

उनले दक्षिण एसियाली मुलुकले आफ्नो क्षेत्रको विकासका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । उनले लद्दाखमा भारतीय सैनिकले बहादुरी देखाएको भन्दै प्रशंषा समेत गरे ।

१९४५ अगष्ट १५ मा बेलायतवाट भारत स्वतन्त्र भएको थियो । सोही दिनको सम्झनामा भारतमा यो दिन विशेष कार्यक्रम हुँदै आएको छ । विगत बर्षमा स्वतन्त्रता दिवस कार्यक्रममा सर्वसाधारण पनि सहभागी हुने गरेको भएपनि यो बर्ष सुरक्षाकर्मीको मात्रै उपस्थितीमा लालकिल्लामा कार्यक्रम गरिएको हो ।

धेरै पढिएको